FAQs Complain Problems

नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु र USAID, EU, UNOPS, UN Habitats का प्रतिनिधिहरु विच संयुक्त बैठक सम्पन्न |

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अबलम्बन गरेका अभ्यासलाई नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिले स्वागत गरेका छन् ।

विशेष गरी शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाई, सुरक्षित, सुन्दर र सबैको पहुँच योग्य सहर बनाउन नगरपालिकाले दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाउँदै तत् अनुरुप आफ्नो नीति योजनामा समावेश एवं कार्यान्वयनमा ल्याइरहेको छ ।

संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम ( युएन ह्यबिट्याट) , युरोपियन युनियन, विश्व बैँक, अमेरिकी विकास नियोग (युएसआइडी), परियोजना सेवाहरुका लागि संयुक्त राष्ट्र संघीय कार्यालय ( युएन ओपिस) का प्रतिनिधिले नगरपालिकाले दिगो विकास लक्ष्य प्राप्तिका लागि दिगो, समावेशी र उत्थानशील आर्थिक सामाजिक विकासका लागि गरिरहेको प्रयासलाई प्रसंशा गरेका छन।

ती निकायका प्रतिनिधिसंग बुधबार भएकोे छलफलमा नगरपालिकाले दिगो विकास लक्ष्य हासिल गर्न आफ्नो नीति योजनामा समावेश गरेका विषयवस्तु र सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुतीकरण गरेको थियो ।

दिगो विकास लक्ष्य अन्तर्गत ‘सिटी फर वोमेन परियोजना’का लागि चन्द्रागिरि नगरपालिका छनोट समेत भएको छ । छलफलमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीज्यूले नगरपालिकाले स्थानीय स्वयंसेवी समीक्षा प्रतिवेदनको मस्यौदा तयार गरिसकेको, सार्वजानिक जग्गा संरक्षणमा प्राथमिकता, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा समान प्राथमिकता दिएको र एक वडा एक उद्यान , एकवडा एक खुला स्थानको नीति लिएको, समुदाय तहदेखि योजना छनौट र कार्यान्वयनमा लैङ्गिक समानता, सबै वर्ग क्षेत्र र समुदायको सहभागीता गराइएको जानकारी दिनुभयो ।

उपप्रमुख बसन्ती श्रेष्ठले दिगो विकासको स्थानीयकरण गर्न नगरपालिकाले प्राथमिता दिँदै आएको जानकारी दिनुहुँदै महिला, बालबालिका, जनजाती, दलित अपाङ्ग तथा जेष्ठ नागरिक मैत्री नीति अबलम्बन गरिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाको दिगो विकास लक्ष्य हाँसिल गर्न नगरपालिकाले आर्थिक र सामाजिक क्षेत्रमा गरिरहेका प्रयासका बारेमा प्रस्तुतीकरण गर्नुहुँदै समावेशी, सुरक्षित , उत्थानशील समृद्ध शहर बनाउने ध्येय रहेको छ भन्नुभयो ।

छलफलमा वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी लगायत वडाअध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरुले आफूहरुले सम्पादन गरिरहेका काम एवं चुनौतिका बारेमा बोल्नुभएको थियो ।

छलफलमा युरोपियन युनियनका नेपाल प्रतिनिधि इलोइजा अस्टुडुलोले स्थानीय योजना तर्जुमा प्रक्रियामा लैङ्गिक समानता र समावेशीकरणका बारेमा जिज्ञासा राख्दै महिला, सीमान्तकृत वर्ग समुदायको आर्थिक एवं सामाजिक सशक्तिकरणमा ध्यान दिन सुझाव दिनुभयो ।

युएन ह्यबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालय जापानका प्रतिनिधि डा ओडिसा एङ्लो ब्यारियसले दिगो विकास लक्ष्यका शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाई, सुरक्षित, सुन्दर र सबैको पहुँच योग्य सहर जस्ता लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अबलम्बन गरेका अभ्यासको प्रसंशा गर्नुभयो । युएसआइडीका नेपाल प्रतिनिधि डेभिड म्यानले दिगो विकास लक्ष्य हासिल गर्न सामुहिक प्रयत्नको खाँचो औल्याउँदै खुला क्षेत्र संरक्षण, निर्णय प्रक्रियामा अल्पसंख्यक , सीमान्तकृत, तथा संकटासन्न समुदायको अर्थपूर्ण सहभागिता र स्थानीय विकास प्रक्रियालाई समावेशी बनाउन सुझाव दिनुभयो ।

युएनओपिसका प्रतिनिधि इलिया ग्यूविकले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्न आवश्यक रहेको बताउनुभयो ।